0Shares


दसैंका लागि असोज १ गतेदेखि देशका विभिन्न ठाउँमा सहुलियत पसल सञ्चालन हुने भएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ४१ जिल्लाका ४४ आउटलेटमा असोज १ देखि कात्तिक १५ गतेसम्म सहुलियत पसल सञ्चालन गर्ने भएको छ । चामल, दाल, चिउरा, आटा, कर्णाली प्रदेशका गेडागुडी लगायत खाद्यमा हाल बिक्री भइरहेको मूल्यको तुलनामा प्रतिकेजी ७ रुपैयाँ छुट दिइने कम्पनीका बिक्री वितरण विभागले जनाएको छ ।

काठमाडौं उपत्यकामा चार ठाउँहरु रामशाहपथ, नख्खु र थापाथली र भक्तपुरको सूर्यविनायकमा सहुलियत पसल सञ्चालन हुने छन् । यदी कम्पनीको वेबसाइट/अनलाइनबाट अर्डर गरेमा सहुलियत दरमै सामान घरसम्म पुर्‍याइदिने सुविधा समेत रहेको बताइएको छ । कम्पनीले हाल बासमती चामल प्रतिकिलो ११० रुपैयाँमा बिक्री गरिरहेकोमा सहुलियत दरमा १०३ रुपैयाँ पर्नेछ । जीरा मसिनो चामल हाल प्रतिकिलो ६८ रुपैयाँमा बिक्री भइरहेकोमा सहुलियत दिँदा ६१ रुपैयाँ पर्नेछ । त्यस्तै खाने तेलको मूल्यमा पनि प्रतिलिटर ७ रुपैयाँ रुपैयाँ सहुलियत दिइने कम्पनीले जनाएको छ । तेलको मूल्य भने ब्राण्डअनुसार फरक फरक पर्दछ ।

यसैबीच कम्पनीले दसैँका लागि २ हजार खसीबोका र १ हजार च्यांग्रा ल्याउने तयारी गरेको छ ।जिउँदो खसीबोका तथा च्यांग्रामा प्रतिकिलो १० रुपैयाँ छुट दिइने कम्पनीले जनाएको छ । साल्ट ट्रेडिङले पनि चिउरामा प्रतिकेजी ७ रुपैयाँ छुट दिने भएको छ भने नुनमा प्रतिकेजी २ रुपैयाँ छुट दिने भएको छ ।

उता नवलपरासीमा चौधरी ग्रुपको सीपमूलक तालिम सञ्चालनले स्थानीय युवाहरूको दैनिकीमा परिवर्तनसँगै ठूलो संख्यामा रोजगारी सिर्जना भएको छ । पूर्वी नवलपरासीको देचवुली नगरपालिका वडा नम्बर दुईमा रहेको चौधरी उद्योग ग्राम परिसरमा बि.स. २०६६ सालमा सुरु गरिएको सीप प्रशिक्षण तालिम सञ्चालन भएसँगै सिंगो नवलपुर र यस बाहेकका अन्य जिल्लाका युवा युवतीहरूले पनि यस तालिममा सहभागी भएर सीप आर्जन र सिकेका सीपलाई व्यवहारमा उतारी आफ्नो दैनिकी चलाइ रहेका छन् ।

बि.स. २०६६ सालमा मेकानिकलबाट सुरु गरेको सीप मूलक तालिम २०६७ सालमा सीटिइभिटीसँग समन्वय गरी सीटिइभिटी कै मान्यताका अनुरूप सिजी पोलीटेक्नीकल सञ्चलन गरिएको हो । उद्योग परिसरको छुट्टै भवनमा हुने तालिममा इलेकट्रोनिक,उद्योगमा सञ्चालन हुने विभिन्न हेभी मेसिन मर्मत लगायतका धेरै प्रकारका विशेष गरी उद्योगसँग सम्बन्धित सीप प्रशिक्षण प्रदान गर्दे आएको छ ।

सिजी पोलीटेक्नीकलको मुख्य उद्देश्य उद्योग र आफूलाई दैनिक जीवनमा आवश्यक पर्ने सामान्य सीको विकास र स्वदेश तथा विदेशमा रहेका ठुला उद्योगमा आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्नु नै हो । ‘हाम्रो मुख्य उद्देश्य भन्नु नै उद्योगका लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्नु हो,’ पोलिटेक्नीकल तालिमका प्रिन्सिपल शिवहरी ढकालले भने । ढकालका अनुसार चौधरी उद्योग ग्राममा नै सञ्चालित तालिममा सहभागी विद्यार्थीहरूलाई प्राविधिक विषयमा आवश्यक प्रयोगशाला , औजारहरू पर्याप्त मात्रामा उपलब्ध गराइएको बताउँछन् ।

‘तालिममा सहभागी हुन आउने विद्यार्थीहरूलाई आवश्यक सबै औजार र सीप विकासका लागि आवश्यक पर्ने शिक्षक देखि प्रयोगात्मकका लागि आवश्यक पर्ने सबै विषय वस्तुहरू हामी नै दिन्छौ,’ प्रिन्सिपल ढकालले भने । बाह्र वर्ष अघिदेखि सञ्चालन हुँदै आएको उक्त सीप विकास तालिममा सहभागी विद्यार्थीहरूका लागि ६ महिना सम्म सीप सिकाइन्छ । सिटीइभिटी र चौधरीको लोगो अन्तर्राष्ट्रिय स्तरमा परिचित भएको हुँदा हरेक वर्ष प्रदान गरिने तालिममा विद्यार्थीहरूको संख्या बढ्ने गरेको प्रिन्सीपल ढकाल बताउँछन् ।

यहाँ तालिम लिन आउने विद्यार्थीहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा सजिलै रोजगार पाउने गरेका छन् । चौधरी ग्रुपको लोगो र सिटीइभिटी मान्यता भएकै कारण तालिम लिन आउनेहरूले सहज महसुस गरेका छन्,’ प्रिन्सीपल ढकालले भने । उनका अनुसार आर्थिक वर्ष २०६६÷०६७ देखि हाल सम्म दुई हजार २ सय ६३ जनाले तालिम लिई सकेका छन् ।