84Shares

कवि मुन्धुमविद तथा वरिष्ठ साहित्यकार वैरागी काईलालाई सुनसरीको धरानमा नागरिक अभिनन्दन गरिएको छ । नेपाली कविताका शिखर साधक काईलाको अभिनन्दन समारोहको आयोजनाको क्रममा काईलालाई धरान नगर परिक्रमा गराई अभिनन्दन गरेको हो ।

नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले शनिबार धरानस्थित सैनिक भवनमा आयोजना गरेको औपचारिक कार्यक्रमको समारोहमा प्रदेश प्रमुख पर्शुराम खापुङको प्रमुख आतिथ्यता र प्रतिष्ठानका अध्यक्ष गणेश राईको सभापतित्व रहेको थियो । सोही अभिन्नदनको क्रममा प्रसिद्ध साहित्यकार तथा मुन्धुमविद् ८३ वर्षीय बैरागी काईलाले धरानमा नागरिक अभिनन्दन गरिएकोमा प्रसन्नता व्यक्त गर्दे आफूले नेपाली कविता साहित्य र मुन्धुममा गरेको सानो कामको ठुलो मल्यांकन गरी बाजागाजा सहित बजार परिक्रमा गराउनु बढी नै सम्मान पाएको अनुभव प्रकट गर्नुभएको थियो ।

काईलालई अभिन्नदनको गर्नु अघि उनकै साथमा रहेकी उनकी श्रीमती देवकुमारी नेम्वाङ साथमै रहेकी थिइन् । पछि नौमती बाजा, साकेला र च्याब्रुङ नाच सहित उनलाई गाडीको पछाडि खुल्लामा राखेर साहित्यकार, बुद्धिजीवीहरूका अभिनन्दन यात्राले धरान बजार परिक्रमा गरेको थियो भने सो ¥याली धरान–१० स्थित सैनिक भवनमा पुगेर अभिनन्दन समारोहमा परिणत भएको थियो

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति काइलाले अभिनन्दन ग्रहण गर्दै भने ‘साहित्यले सहिष्णुताको संस्कृति निर्माण गर्नमा भूमिका खेलेको हुन्छ ।’ साहित्यको समष्टिगत अर्थ सद्भाव, मित्रता र एक अर्काको भावना बुझ्ने, बुझाउने सिर्जना हो । सद्भावको अभावकै कारण विश्व युद्धहरू भएको बताउँदै उनले भने ‘आआफनो भाषा, संस्कृतिको विकाशमा सबैले स्वतन्त्र रूपमा लाग्न पाउनु पर्छ भनेरै आफू लिम्बु भाषा, संस्कृतिमा सानै भए पनि काम गर्न लागेको हुँ ।’ यसै गरी आदिवासी जातिका अगुवाहरूले आआफना भाषा, संस्कृतिको विकासमा लाग्नु पर्ने उनले आग्रह गरे ।

नेपाली साहित्यमा तेस्रो आयाम मार्फत बौद्धिक तर्कको उठाएको बताउँदै उनले भने ‘बौद्धिक कुराले ज्ञान बढाउँछ ।’ मौखिक परम्परामा रहँदा मिसावट बढ्न लागेको लिम्बु मुन्धुमलाई सङ्कलन गरी शुद्ध मुन्धुमहरू लिखित रूपमा र नेपालीमा अनुवाद समेत गरी प्रकाशित गरेको बताउनुभएको थियो ।

उक्त सम्मान समारोहमा अभिन्नदीत तथा सम्मानित वैरागी काईलाको व्यक्तित्वका बारेमा साहित्य साधक प्रा. डा. गोविन्दराज भट्टराईले प्रकाश पार्दै वैरागी काईला नेपाली साहित्यका दिवङ्गत महाकवि सहित मूर्धन्य साहित्यकारहरूको लहरमा चर्चामा आएका कान्छो र जीवित साहित्यकार भएको बताए ।

पश्चिमी दुनियाँमा वैज्ञानिक बहस चलिरहेको बेला नेपाली साहित्यमा विज्ञानको अवधारण भित्र्याउँदै सुरु भएको तेस्रो आयामेली आन्दोलनका प्रमुख स्रष्टाका रूपमा वैरागी काईलाको ख्याति स्थापित भएको डा.भट्टराईले उल्लेख गरेका थिए । पछिल्लो समय नेपाली साहित्यमा लिम्बु भाषा, संस्कृतिका मिथक, बिम्बहरू प्रयोग गरेर नेपालीत्वको नयाँ मान्यता स्थापना गर्ने प्रेरणा वैरागी काईलाबाट नयाँ पुस्ताका कवि, साहित्यकारहरूले पाएको समेत उनले बताए ।

यस्तै सोही कार्यक्रमका दौरान वरिष्ठ गायक दिप श्रेष्ठका व्यक्तित्वबारे वरिष्ठ गीतकार शिवशंकर थापाले धारणा राखेका थिए भने कवि सुदिप पाख्रिनको कवित्वबारे वरिष्ठ काव्य साधक बम देवानले बोलेका थिए । कार्यक्रममा वरिष्ठ गायक दीप श्रेष्ठ र कवि सुदिप पाख्रिनलाई प्रतिभा सम्मानद्वारा सुशोभित गरिएको छ । वरिष्ठ गायक श्रेष्ठलाई नगद ५० हजार रुपैया दोसल्ला र सम्मानपत्र सहित सम्मान गरेको छ भने कवि पाख्रिनलाई नगद १ लाख रुपैयाँ दोसल्ला र सम्मान पत्रसहित पुरस्कृत गरेको छ ।