0Shares

राष्ट्रिय योजना आयोगले कोशी प्रदेश सरकारसँग १६ औ योजनाका लागि सुझाव लिएको छ । बिहीबार कोशी प्रदेशको विराटनगरमा आयोजना गरिएको कार्यक्रममा मूख्यमन्त्री केदार कार्की सहित प्रदेश सरकारका मन्त्रीहरु र प्रदेश योजना आयोगका उपाध्यक्ष तथा सदस्यहरु लगायत सहभागी भएका थिए ।

राष्ट्रिय योजना आयोगको टोली आउने भएपछि कोशी प्रदेश सरकारले बुधबारमात्रै प्रदेश योजना आयोगको उपाध्यक्षमा पुरञ्ज्न आचार्यलाई नियुक्त गरेको थियो । बिहीबारको छलफलमा मूख्यमन्त्री, मन्त्रीहरुसँगै उपाध्यक्ष आचार्य पनि सहभागी भए । आयोगलाई मूख्यमन्त्री कार्कीले संघीयताको मर्म बुझेर योजना बनाउनु पर्ने बताएका छन । उनले मुलुकको समृद्धिका लागि दीर्घकालिन असर पर्ने गरी योजना बनाउन समेत सुझाएका छन ।

प्रदेश तथा स्थानीय तहसंग सुझाव लिन आयोगले छुट्टाछुट्टै टोली परिचालन गरेको छ । कोशी प्रदेश सरकार र कोशी प्रदेशमा रहेका स्थानीय तहहरुबाट सुझाव लिन आयोगले सदस्य डा.आरपी विच्छा नेतृत्वको टोली विराटनगर पठाएको छ । आयोग सदस्य डा. विच्छाले संघीयताको मर्म अनुसार योजना बनाउनकै लागि आफूहरु तलसम्म आएको बताएका थिए । माथिबाटै योजना बनाएर कार्यान्वयनका लागि तल पठाउने नभइ स्थानीय तह र प्रदेशका सुझावहरु समेटेर मात्रै योजना बनाउने उनले बताएका छन ।