26Shares

१०४ वर्षे जहानियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिनको सम्झनामा आज फागुन ७ गते प्रजातन्त्र दिवस मनाईदैछ । यो ७३ औ प्रजातन्त्र दिवसको रुपमा मनाउन लागीएको हो । आजको दिन देशभरमा विविध कार्यक्रम गरी यो दिवस मनाइदै छ भने हरेक बर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइने गरिन्छ।

जनताको क्रान्तिको कारण नै राणाशासनको अन्त्य भई प्रजातन्त्र घोषणा भएको सुखद अवसरमा फागुन ७ मा नेपाल सरकारले यस दिनलाई सार्वजनिक विदा समेत दिदै आएकोमा यसबर्ष पनि आज सार्वजनिक बिदा दिईएको छ । सोही अवसरमा आज विभिन्न संघसंस्थाहरूले औपचारिक÷अनौपचारिक रूपमा यस दिवस मनाउने छन्।

प्रजातन्त्र प्राप्तिकै लागि भएका संघर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले ज्यान बलिदान दिएका थिए। उनीहरूलाई विसं १९९७ माघमा तत्कालीन राणा शासकहरूले मृत्युदण्डको सजाय दिएका थिए। सो समय उनीहरूले प्रजापरिषद् नामक राजनीतिक दल स्थापना गरी भूमिगत रूपमा प्रजातन्त्र प्राप्तिका लागि जनतामा जागरण ल्याएको अभियोग लागेको थियो। सोही अभियोगकै आधारमा उनीहरूले मृत्युदण्डको सजाय भोग्नु परेको थियो।

राज्यशक्तिको स्रोत जनता मात्र हुन् र मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यतालाई जनताको संघर्ष तथा वीरवीरांगना शहीदको बलिदानबाट स्थापित गरेको हुनाले आजको दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय मानिन्छ । त्यसैले पनि होला यस दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतले सबै नेपालीहरुमा शुभकामना ब्यक्त गर्नुभएको छ ।

राणाहरूको वंशीय तन्त्र होइन कि ‘प्रजा’हरकै ‘तन्त्र’मा शासन चल्छ भन्ने उद्घोष सहित आजकै दिन मुलुकमा ‘प्रजातन्त्र’ छाएको थियो । विगतमा यो दिनको बेग्लै महत्त्व थियो । बि.स.२०६३ वैशाखमा लोकतन्त्र स्थापनासंगै यो दिन ओझेलमा परेको हो । अब ‘प्रजातन्त्र’को ठाउमा ‘लोकतन्त्र’ले ठाउ लिएको थियो । बिस्तारै बोलीचालीमा ‘प्रजातन्त्र’ शब्द हराउदै गएको छ र त्यो ‘लोकतन्त्र’ले लिएको हो । शब्द फेरिए पनि शासकीय वृत्त अझै लोकतन्त्रसँग अभ्यस्त छैन, तिनका क्रियाकलापमा राणा शाहीकै धङधङी नियमित छ । तर,यो दिन नेपालको राजनीतिक र शासकीय इतिहासमा प्रजातन्त्रको बेग्लै महत्त्व छ । बि.स.२००७ मा नेपाली काँग्रेसको नेतृत्वमा भएको सशस्त्र क्रान्तिलाई राजा त्रिभुवनले साथ दिएपछि मुलुकमा प्रजातान्त्रिक शासन व्यवस्था स्थापना गर्न सजिलो भएको थियो ।यदि रा जाले साथ नदिएको भए प्रजातन्त्र स्थापना अझै समय कुर्नुपर्थ्यो होला की ?