23Shares

सात बुँदे माग अघि सार्दै गत कात्तिक १२ गतेदेखि आन्दोलनरत नेपाल बिधुत प्राधिकरणका कर्मचारी युनियन र नेपाल बिधुत प्राधिकरण कर्मचारी सङ्घले कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतलाई कार्यालय प्रवेशमा रोक लगाएको छ ।

नेपाल बिधुत प्राधिकरणका आन्दोलनरत कर्मचारीहरूले आइतबार कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतका कर्मचारीहरुलाई आज, भोलि र पर्सि तीन दिन कार्यालय प्रवेशमा रोक लगाउने घोषणा गरेका हुन ।सो क्रममा आन्दोलनकारीहरुले कार्यकारी निर्देशक,उप कार्यकारी निर्देशक प्रशासन, जनसाधन विभागका निर्देशक र सम्पूर्ण प्रादेशिक कार्यालय प्रमुखहरूलाई समेत कार्यकक्षमा प्रवेश निषेध गर्ने निर्णय गरेका छन ।

आज कात्तिक १९ गते ११ः१५ बजेदेखि १२ः१५ बजेसम्म, भोलि कात्तिक २० गते ११ः१५ बजेदेखि १२ः४५ बजेसम्म र पर्सि ११ः१५ बजेदेखि १ः१५ बजेसम्म कार्यकक्ष प्रवेश निषेध गर्ने कर्मचारीहरूले सार्वजनिक गरेको आन्दोलनका कार्यक्रममा उल्लेख छ । प्राधिकरणले गत असोज ३० गते विभिन्न पदका आठ तहदेखि दुई तहसम्मका २९७ जना कर्मचारीहरूको सरुवा गरेको थियो । उक्त सरुवाबाट नै ट्रेड युनियनहरू रुष्ट बन्दै आएका थिए ।

संस्थागत उन्नति र कर्मचारीको हक हितका लागि भन्दै यही कात्तिक १२ गते पहिलो ध्यानाकर्षण पत्र बुझाएका नेपाल बिधुत प्राधिकरणमा क्रियाशील ट्रेड युनियनहरूले कात्तिक १४ गते दोस्रो पटक सात बुँदे सहित तीन दिने आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए ।यो कार्यक्रमबाट पनि माग सुनुवाई नभए आउदो कात्तिक २२ गतेदेखि थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने उनीहरूले जनाएको छ ।