12Shares

सुनसरीको धरानमा ८ दिने वृहत साँस्कृतिक पर्यटन महोत्सव शुरु भएको छ । सोनाम ल्होसारको अवसर पारेर तामाङ समुदायहरुको संस्था नेपाल तामाङ घेदुङ धरान उपमहानगर कार्यसमितिको आयोजनामा शनिबार धरान १२ स्थित पव्लिक हाइस्कुलको मैदानमा उक्त महोत्सव सुरु भएको हो ।

कार्यक्रमको समुद्धघाटन धरान उपमहानगरपालिकाका मेयर हर्क राज राई(साम्पाङ)को प्रमुख आथित्यतामा गरिएको थियो भने महोत्सवको उद्घाटन समारोहमा विशिष्ठ अथितिको रुपमा धरान उपमहानगर पालिकाका उपमेयर अईन्द्रविक्रम बेघा, राजनीतिक दलका प्रमुखहरु, वडाका अध्यक्षहरु र विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । उक्त वृहत साँस्कृतिक महोत्सवलाई तामाङको रितीरिवाज अनुसार मेयर साङपाङले उद्घाटन गरेका थिए ।

उनले महोत्सव समारोहलाई सम्वोधन गर्दै राज्यले सवै धर्म संस्कार संस्कृतिलाईृ सम्वोधन गर्नु पर्ने बताए । आधुनिकताको नाममा अरुको संस्कृतिको अपनाई रहेको हुन्छौ भन्दै, उनले भने,“आधुनिकता भन्ने संसारमा कही कतै छैन त्यो एउटा भ्रम मात्र हो ।” “पाश्चिमा संस्कृतिलाई आधुनिक भन्नु हाम्रो संस्कृतिलाई जोगाउन नसक्नु हो ।” उनले भने । उनले सोनाम ल्होसार तामाङ जातीको मात्र नभएर राष्ट्रिय पर्व भएकोले सवै समुदायले सहभागी हुनु आह्वान समेत गरे । कार्यक्रम सुरु हुनुअधि वडा वडामा सोनाम ल्होसार मनाउँदै आएको धरान तामाङ घेदुङले वृहत महोत्सवको रुपमा पब्लिक स्कुलको खेल मैदानमा आयोजना गरेको आयोजकले जनाएको छ । तामाङ जातीहरुको संस्कार र संस्कृति बारेमा तामाङ सुमदायमै जानकारी गराउन बोध गराउने उदेश्यले पनि उक्त महोत्सवको आयोजना गरिएको समितिले जनाएको छ ।

माघ २७ गतेबाट शनिबारबाट शुरु भई फागुन ५ गते सम्म चल्ने उक्त महोत्सवमा तामाङ जातिको पहिचान झल्काउने संस्कृति तथा चाड मनाईनुका साथै ऐतिहासिक परम्परालाई प्रवद्र्धन संगै धरानको पर्यटन, पर्यावरणलाई सम्बद्र्धन प्रवद्र्धन गरिनेछ भने पर्यटक, भित्र्याउने र आर्थिक क्रान्तिमा टेवा समेत पुयाईनेछ । सोही महोत्वमा मनोञ्जनात्मक खेलहरु रोटे पिङ,ड्रागन, मिकी माउस खेल तमासाका अवाला पर्यटन प्रवद्र्धनको लागि बृहत फोटो पेन्टिङ प्रदर्शनीका साथै दैनिक साँस्कृतिक कार्यक्रमहरु समेत गरिनेछ ।

त्यसैगरी सोही कार्यक्रम अबधीभर तामाङ जातिहरुका साथै धरानमा बसोबास गर्ने सम्पूर्ण जातजातीहरुमा शुभकामना आदान प्रदान गर्ने कार्यक्रम समेत रहेको आयोेजक नेपाल तामाङ घेदुङ धरान उपमहानगर कार्यसमितिले जनाएको छ । ८० बटा स्टलहरुमा विभिन्न जातिय परिकारहरू समेत तयारी गरिनेछ भने मेला भर्न आउनेहरुले ती परिकारहरुको स्वाद लिन सकिने नेपाल तामाङ घेदुङ नगर समितिका सदस्य तथा महोत्सव व्यवस्थापनका संयोजक दिपक घिसिङले आयोन्युजलाई जानकारी दिएका छन ।