0Shares

सुनसरीको ईटहरी उप–महानगरपालिका–२ बाट खैरो हेरोईन सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईटहरी–२ मा रहेको एक ट्याटु हाउसबाट प्रतिबन्धित लागुऔषध खैरो हेरोईन बेचबिखन हुने गरेको भन्ने बिशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह (PTI) बाट खटिएको प्रहरी टोलीले बुधबार दिउँसो ट्याटुहाउस संचालक स्थानीय २५ बर्षीय मनिष लिम्बुलाई पक्राउ गरेको हो ।

लिम्बुले संचालन गरेको ट्याटु हाउसबाट प्रहरीले १.६८ ग्राम लागुऔषध खैरो हेरोईन, नगद २ हजार ३ सय रुपैयाँ र २ थान मोबायल फोन समेत बरामद गरेको छ । लागुऔषध सहित पक्राउ परेका लिम्बुको ईलाका प्रहरी कार्यालय ईटहरीबाट थप अनुसन्धान भईरहेको छ ।

उता जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले झापा जिल्लाको बिभिन्न स्थानहरुबाट लागुऔषध ब्राउनसुगर सहित ५ जनालाई पक्राउ गरेको छ । मंगलबार दिउँसो साढे ३ बजे झापाको अर्जुनधारा नगरपालिका–११ नयाँ बसपार्क स्थित ३५ बर्षीय अप्सना भन्ने निसा खातुनको घरमा लागुऔषध बेचबिखान भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले घर खानतलासी गर्दा उक्त घरबाट लुकाईछिपाई राखेको अवस्थामा ८ सय मिलिग्राम ब्राउनसुगर, गाँजा ७० ग्राम ५ सय मिलिग्राम र नगद ६ हजार ५ सय रुपैया फेला पारी पक्राउ गरेको हो भने सोही स्थानबाट २४ बर्षीय विशाल तामाङ र २४ बर्षीय विकाश आङदम्बेलाई समेत ७५० मिलिग्राम ब्राउनसुगर र नगद ३ हजार रुपैया सहित पक्राउ गरेको थियो ।

त्यस्तै वडा प्रहरी कार्यालय भद्रपुर झापाबाट भद्रपुर नगरपालिका–४ स्थितमा खटिएको प्रहरी टोलीले हल्दिबारीतर्फ जादै गरेको प्र १–०१–०१५ प २६६६ नम्बरको स्कुटरलाई रोकेर चेकजाँच गर्दा स्कुटर चालक भद्रपुर–५ का २० बर्षीय रिवज मेचे र स्कुटरमा पछाडी सवार हल्दिबारी–३ का २१ बर्षीया जेम्स राईको साथबाट(ESKUF DX)लेखिएको १०० ML को २ बोतल, (NITRAZEPAM/SPASCORE)८९ ट्याबलेट नियन्त्रित औषधी र गाँजा १ प्याकेट फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको झापा प्रहरीले जनाएको छ ।