14Shares

मोरङको विराटनगर-६ स्थितबाट स्रोत नखुलेको रकम सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको चाडपर्व बिशेष सुरक्षा योजना अनुसार प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समुहबाट परिचालन भएको प्रहरी टोलीले बिशेष सूचनाको आधारमा बुधबार बिहान ११ बजे विराटनगर-६ शनि मन्दिर स्थितबाट १६ वर्षीय नावालकले पछाडि भिर्ने कालो झोलामा अवैध रुपमा बोकी ल्याउँदै गरेको अवस्थामा स्रोत नखुलेको नेपाली रुपैया नगद २१ लाख ८७ हजार सहित पक्राउ गरेको हो ।

स्रोत नखुलेको रकम नेपाली रुपैया १००० दरको १ हजार ६ सय ८७ थान र ५०० दरको १ सय थान सहित पक्राउ परेका उनको साथबाट प्रहरीले बलराम केसरीको नाममा रहेको कुमारी बैंक लिमिटेडको चेकबुक थान-१, रन्जित कुमार साहको नाममा रहेको NIC ASIA Bank को चेकमा उमेश कुमार भगतको नाममा ८६ हजार ८ काटिएको चेक थान-१,ग्लोबल आईएमई बैक लिमिटेडमा विभिन्न मितिमा १६ लाख ६९ हजार ५ सय रुपैया जम्मा गरेको रसिद ४ थान र उनले प्रयोग गरेको प्रदेश १-०२-०४३ प ६२४१ नम्बरको पल्सर मोटरसाईकल समेत बरामद गरेको हो । स्रोत नखुलेको रकम सहित पक्राउ परेका उनको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।

यसैबीच मोरङको बिराटनगर—१६ बाट अवैध भन्सार छलीका रेडिमेड कपडाहरु प्रहरीले बरामद गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको चाडपर्व बिशेष सुरक्षा योजना अनुसार बुधबार राती कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर, प्रादेशिक अनुसन्धान समूहबाट परिचालन भएको प्रहरी टोलीले बिराटनगर १६ बाट भन्सार छली गरी नेपाल तर्फ भित्र्याउदै गरेको लेडिज टप्स ८४ थान र लेगिज ८८ थान बरामद गरेको हो । बरामद भएका करिव १ लाख २८ हजार मुल्य बरावरको रेडिमेड कपडाहरु आवश्यक कार्वाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाईएको छ ।

त्यस्तै उता झापा जिल्लाको मेचीनगर नगरपालिका—५ स्थित राजवंशी टोलबाट अवैध भन्सार छलीका रेडिमेड कपडाहरु प्रहरीले बरामद गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको चाडपर्व बिशेष सुरक्षा योजना अनुसार बुधबार राती ८ बजे ईलाका प्रहरी कार्यालय नकलबन्द बाट खटिएको प्रहरी टोलीले भन्सार छली गरी नेपाल तर्फ ल्याउदै गरेको उलनको सर्ट ९३ थान,जम्पर ११७ थान र फुल भेष्ट १४ थान बरामद गरेको हो । बरामद भएका करिव ४ लाख ५० हजार मुल्य बरावरको रेडिमेड कपडाहरु आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालयमा बुझाईएको छ ।