0Shares

आज कार्तिक शुक्ल प्रतिपदाको दिन अर्थात नेपलीहरुको दोश्रो महान चार्ड यमपञ्चकको तेस्रो दिन गाईको पूजाआजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा रही आएको छ । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता रुपमा समेत हिन्दुधर्माबलम्बीहरुले मानने गरेको पाईन्छ ।

स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व रहेको बताइएको छ भने गाईको पूजा गरी आजका दिन मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिन गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको शुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिएका छन । आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात गाईले स्वर्ग जान वैतर्णी नदी तारिदिने धार्मिक जनविश्वास रहीआएको छ ।

यसैबीच धरानमा गाईपूजा हिन्दु धर्मावलम्बीलेहरुले सामुहिक रुपमा गाईको पुजाआजा गरी मनाएका छन। उक्त पुजा हरेक बर्ष झै धरानको भानुचोकमा रहेको घण्टाघर परिसरको गणेश मन्दिरमा आयोजना गरिएको गौपूजनको रुपमा मनाएका हुन । ॐ कार परिवारको आयोजनामा बिहान ८ बजेदेखि मध्याह्नसम्मा आयोजना हुने प्रशासन नियन्त्रित गौपूजनमा सयौं श्रद्धालु भक्तजनको उपस्थिति रह्यो । परापूर्व कालदेखि गौपूजन गरिरहेका तर गौसेवा गर्न नसकेकाहरुको सहजताका लागि बर्सेनि गाई पूजा कार्यक्रम आयोजना गरिरहेको र त्यसैको निरन्तरता यो वर्ष पनि दिइएको विजयपुर धार्मिक क्षेत्र संरक्षण समन्वय समितिका सचिव मातृकाप्रसाद नेपाल जानकारी दिए ।

व्यापक गौपूजन समारोह गर्ने कार्यक्रमको उद्देश्य रहे पनि प्रशासनको आग्रहमा निरन्तरताका रुपमा मात्रै आयोजना गरिएको सचिव नेपालले बताए । देखाउने हिसाबले नगर्न, मौलिक रुपमा चाडपर्व मनाउन प्रशासनले अनुरोध गरेकाले गणेश मन्दिर परिसरमा आयोजना गरिएको हो,’ सचिव नेपालले भने, ‘धरानको स्थिति तरल रहेको प्रशासनको बुझाई छ ।

प्राध्यापक पुरुषोत्तम भट्टराईको प्रमुख आतिथ्यतामा आयोजित गौपूजन कार्यक्रममा धरानका सबै मठ मन्दिरका प्रतिनिधिको उपस्थिति रहेको संयोजक जुद्ध लोहनीले जानकारी दिए ।धरानका डिएसपी नवराज मल्लले सार्वजनिक स्थानमा आयोजना हुने कार्यक्रमले सडक आवागमन र चाडवाडमा भीडभाड हुने भएकाले घण्टाघरभित्र गाईपूजा कार्यक्रम आयोजना गर्न आग्रह गरिएको बताए । उनले आदेशअनुसार धरान प्रहरीले काम गरेकाले प्रशासनको नियन्त्रणका सम्बन्धमा माथिल्ला निकायमा बुझ्न संचारकर्मी सँग अनुरोध गरेका थिए ।