17Shares

नेपाली कांग्रेस धरान उपमहानगर कार्यसमितिले भुकम्प प्रभावित जाजरकोटमा श्रमदानबाट २ वटा अस्थायी आवास निर्माण गरिदिनका लागी जाजरकोट प्रस्थान गरेको छ । मंगलबार एका बिहान धरानका निवर्तमान मेयर तथा नेपाली काग्रेस सुनसरी क्षेत्र नं १ का क्षेत्रीय सदस्य तिलक राईको आगुवाईमा को १ च ६४७४ नम्बरको डबल क्याप स्कोर्पियोमा ६ जनाको टोली त्यतातीर प्रस्थान गरेका हुन । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय अनुरुप कांग्रेसको धरान कार्यसमितिले जाजरकोटमा २ वटा अस्थायी आवास निर्माण गर्नेछ ।

उक्त आवास निर्माणको लागि धरानका निवर्तमान मेयर एवं कांग्रेस महासमिति सदस्य तिलक राईको नेतृत्व ६ जनाको टोली जाजरकोट प्रस्थान गरेका छन भने उनी सँगै कांग्रेस प्रदेशसभा १ (१) का सचिव राजेन्द्र राई, प्रदेशसभा १(२) का सचिव विजय घिमिरे, नगर सदस्य वसन्त राई, तरुण दल नगर उपाध्यक्ष बिक्रम तामाङ र कांग्रेस वडा १७ का सचिव सुर्यकुमार सुनुवार पनि श्रमदानको लागि जाजरकोट प्रस्थान गरेको नेपाली कांग्रेस धरान नगरसभापति श्याम पोख्रेलले जानकारी दिए । यस अघि नै जाजरकोट जाने टोलीलाई नेपाली कांग्रेस धरान कार्यसमिति,सुनसरी क्षेत्र नं १, प्रदेशसभा १(१) र प्रदेशसभा १(२ ) कार्यसमितिले सोमबार एक कार्यक्रमको आयोजना गरि विदाई गरिसकेका थिए । सो क्रममाा पोखरेलले पार्टी केन्द्रीय समितिले जाजरकोट र रुकुम पश्चिमका भुकम्प प्रभावित क्षेत्रका पीडित परिवारहरुलाई अस्थायी आवास निर्माण अभियानमा पार्टीका सबै तहलाई श्रमदान र सहयोग गर्न निर्णय गरेकोले धरानबाट पनि श्रमदान गर्न टोली खटाइएको पोख्रेलले जानकारी दिएका थिए ।

जाजरकोट जाने टोलीको नेतृत्वकर्ता एवं धरानका निवर्तमान मेयर राईले २ वटा अस्थायी आवास बन्ने गरि जस्ता पाता र अन्य आवश्यक निर्माण सामग्री सहित एउटा गाडीमा बिहानै जाजरकोट प्रस्थान गरेको जानकारी दिए । उनले जाजरकोटको बढी क्षति भएको बाह्रेकोटमा जाने गरि स्थानीय पार्टी संयन्त्रसँग समन्वय भइरहेको पनि बताएका छन ।

चिसो बढ्दै गएको भएपनि २ वटा अस्थायी आवास निर्माण गरेर मात्र फर्कने राईले बताए । बस्न र सुस्तको लागि त्रिपाल, टेन्ट, ग्याँस सिलिण्डर, विजुलीको सामग्री, खाद्यान्न, तरकारीका साथै बेल्चा, गैती, झम्पल, काटी, विजुलीको तार, पानीको पाइप सबै लिएर हिडेको पनि राईले बताए । आफ्नो लागि र भुकम्प पीडितहरुलाई पनि वितरण गर्ने गरि चार काटुर्न औषधी पनि व्यवस्था गरिएको उनले जानकारी दिएका छन ।

नेपाली कांग्रेसबाट धरानमा निवार्चित ७ जना वडाअध्यक्षहरु, बस व्यवसायी संघ, उद्योगी व्यवसायीहरुबाट पनि सहयोग भएको पनि धरानका निवर्तमान मेयर तथा नेपाली काग्रेसका नेता तिलक राईको भनाई थियो । राईका अनुसार घर निर्माणमा स्थानीय ४ जना मिस्त्रीलाई ज्यालामा सहयोग लिने पनि उनले जानकारी दिएका छन । सरकार र पार्टीले पनि पुर्ननिर्माणमा आह्वान गरेको हुनाले धरानलाई चिनाउने गरि आफ्नो नेतृत्वमा जाजरकोट जाने निर्णय भएको राईले आयोन्युजलाई जानकारी दिएका छन ।