0Shares

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता तथा फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत खटिएको प्रहरी टोलीले एकै दिन ३१ जना फरार प्रतिबादीलाई पक्राउ गरेको छ । झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लाको बिभिन्न स्थानहरुबाट आईतवार एकै दिनमा ३१ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको हो ।

सम्मानित मोरङ जिल्ला अदालतको फैसलाले बिभिन्न मुद्धाका फरार ब्यक्तिहरुको खोज तलासमा जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले मोरङ जिल्लाका बिभिन्न स्थानहरुबाट एकैदिन बिभिन्न मुद्धाका २२ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको हो । त्यस्तै सोहि दिन जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले छुट्टाछुट्टै मुद्धाका ५ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ भने जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले फरार २ जना र जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी टोलिले समेत २ जना फरार प्रतिबादीलाई पक्राउ गरेको छ ।

पक्राउ परेका उनिहरुलाई तोकिएको कैद तथा जरिवाना भुक्तानको लागि सम्बन्धित जिल्ला अदालतहरुमा उपस्थित गराईएको छ । उता झापा र मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर र नियन्त्रीत औषधी सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो अपरान्ह ४ बजे झापाको कमल गाउँपालिका-३ स्थितमा रहेको एक होटलमा लागुऔषध बेचबिखन भईरहेको भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी केर्खाबाट खटिएको प्रहरी टोलीले झापाको गौरीगंज गाउँपालिका–२ का ३६ बर्षिय अजय हेमरमल र लागुऔषध ब्राउन सुगर ओसारपसारमा संलग्न रहदै आएका अटो चालक २६ बर्षिया सम टुडुलाई प्र १–०१–००१ ह ९९१० नम्बरको अटो र लागुऔषध ब्राउन सुगर २० ग्राम सहित नियन्त्रणमा लिएको थियो ।

त्यसैगरी मोरङको उर्लावारी नगरपालिका–३ संजोरा पुल स्थितमा ईलाका प्रहरी कार्यालय उर्लावारीबाट चेकजाँचमा खटिएको प्रहरीको टोलिले प्र १–०१–०१६ प ४८३० नम्बरको स्कुटरलाई रोकेर चेकजाँच गर्दा स्कुटरको डिकी भित्र लुकाई छिपाई ल्याउदै गरेको प्रतिवन्धित औषधी ट्रामाडोल ३५० र स्पासमिट २९० ट्यावलेट सहित झापाको कमल गाउँपालिका–५ का ३२ बर्षिय राजन लिम्बुलाई नियन्त्रणमा लिएको थियो ।

यसैगरी प्रहरीको सोही टोलिले मोरङको उर्लावारी नगरपालिका–४ आईतवारे स्थितबाट २४ बर्षिय रंजित चौधरी, २२ बर्षिय प्रविन चौधरी र २१ बर्षिय सुजन वराइलीलाई प्रतिबन्धित औषधी १७० ट्यावलेट र लागुऔषध गा“जा १५० ग्राम सहित नियन्त्रणमा लिएको थियो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।