0Shares

अन्ततः सत्ता गठबन्धन भत्किएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने सहमति जुटेसँगै नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्किएको हो ।आइतबार रातिसम्म चलेको कांग्रेस र माओवादी केन्द्रको बैठकले सत्ता समीकरण बदल्ने निर्णय गरेको हो ।

माओवादी उच्च स्रोतका अनुसार,गत वर्ष १० पुसमा बनेकै गठबन्धनलाई आधार मानेर नयाँ समीकरण बन्नेछ । त्यसका लागि राष्ट्रिय स्वतन्त्र पार्टी,जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी लाई पनि समेट्ने सहमति भएको छ । नयाँ सहमति अनुसार, आज बिहानै बसेको बैठकबाट रास्वपाले निर्णय लिने अधिकार सभापति रवि लामिछानेलाई दिएको छ । बालकोटमा बसेको एमाले सचिवालय बैठकले पनि नयाँ सत्ता समीकरण आजै अगाडि बढाउने निर्णय गरेको छ ।

बैठकले पदम गिरीलाई सरकारमा पठाउने निर्णय समेत गरेको छ । स्रोतका अनुसार, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै मन्त्रिपरिषद् पुनर्गठन गर्दैछन ।‘विवादित मन्त्रीहरुलाई बर्खास्त गरेर प्रधानमन्त्रीले आजै मन्त्रिपरिषद् पुनर्गठन गर्ने बुझिएको छ । यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्का सबै मन्त्रीलाई हटाउने भएका छन । स्रोतका अनुसार, अहिलेका सबै मन्त्री हटाउने र सानो आकारको मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएको छ ।

नयाँ मन्त्रिपरिषद्मा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) बाट एक÷एक जना मन्त्री बन्दैछन । उता सत्ता गठबन्धन भत्किएसँगै नेकपा एमालेबाट पदम गिरी मन्त्री बन्ने भएका छन । बालकोटमा बसेको एमाले सचिवालय बैठकले गिरीलाई सरकारमा पठाउने निर्णय गरेको हो । एमालेका प्रमुख सचेतक गिरी यसअघि पनि स्वास्थ्यमन्त्री बनेका थिए ।