2Shares

बहुउपयोगी अन्नको रुपमा रहेको कोदो खेतीमा भोजपुरका किसानको आकर्षण घट्दै गएको छ । नेपालको चौथो मुख्य बालीका रुपमा रहेको कोदोबाट राम्रो आम्दानी नभएपछि किसानमा यसको खेतीप्रति आकर्षण घट्दै भएको हो । यहाँका अधिकांश ठाउँमा कोदो फल्ने भए पनि पछिल्लो समय कमै मात्र किसानको रोजाइमा यो बाली पर्ने गरेको छ । आफूले खानका लागि सामान्यरुपमा खेती गरे पनि व्यावसायिकरुपमा कोदो खेती नगरेका किसानले यसबाट जीवनयापन गर्नसक्ने अवस्था नरहेको बताउँछन् ।

परम्परागत तरिकाले केही किसानले मात्र यसको खेती गरिरहेका छन् । कोदोबाट खास आम्दानी नहुने तथा खेती गर्न झन्झटिलो हुने भएकाले यसको खेती कमी हुँदै आएको टेम्केमैयुङ–७ कोटका कृषक धनबहादुर प्रधान बताउछन । विगतका वर्षमा धेरै किसानले खेती गर्ने गरेकामा पछिल्लो समय छाड्दै गएको उनको भनाइ छ । ‘‘पछिल्लो समय हाम्रो क्षेत्रमा कोदो खेती घट्दै गएको छ”, कृषक प्रधान भन्छन, “कोदो खेतीमा कमैको मात्र रुचि देखिन्छ । कोदो खाने चलन गाउँघरमा घट्दै गएको छ । विगतका दिनमा जस्तो उत्पादन पनि हुन्न ।

कोदो स्थानीय बजारमा प्रतिपाथी रु एकसय ६० मा बिक्री हुने गरेको छ । आफ्नो बारीमा उत्पादन भएको कोदो स्थानीय सौर्य बजार लगेर बेच्ने गरेको उनी जानकारी दिन्छन । मानिसले ढिँडो वा रोटी बनाएर खानेभन्दा पनि जाँडरक्सी बनाउन मात्र बढी प्रयोग हुने गरेको छ । दसैँ, तिहार, किरात राईहरुको उधौली, उभौलीलगायत चाडमा बढी कोदोको माग हुने कृषक प्रधान बताउछन। उनी भन्छन, “यसको परिकार बनाएर खाने चलन कम छ । कहिलेकाहीँ मानिसले ढिँडो बनाएर खान्छन् तर गाउँघरमा दैनिकरुपमा ढिँडो, रोटीलगायत परिकार बनाएर खाने चलन घट्दै गएको छ । खास गरेर जाँडरक्सी बनाउनका लागि नै कोदोको खोजी हुने गरेकामा चाडबाडको समय बाहेक अरु समयमा खास कोदोको खोजी हुँदैन ।” वार्षिकरुपमा आफूले १० देखि १२ मुरीसम्म कोदो फलाउँदै आएको र अहिले गाउँमा करिब २० देखि ३० मुरीको हारहारीमा मात्र कोदो उत्पादन हुने गरेको छ । किषक प्रधान बताउछन ।

“खासमा कोदो खानुको फाइदा थाहा नभएर पनि खेतीमा रुचि देखिँदैन”, उनी भन्छन, “सहर बजारबाट सहजरुपमा चामल आउने अवस्था छ । मानिस त्यसैलाई मिठो मानेर खान्छन् तर मैले भने कोदो उत्पादन हुने क्षेत्र घटाएको छैन । दैनिकरुपमा उपभोग गर्छु । यसको महत्वका बारेमा जानकारी दिएर उत्पादनमा जोड दिन आवश्यक छ । यस्तै अवस्था हो भने कोदो लोप हुने अवस्था पनि आउन सक्छ ।” खाद्यसुरक्षा तथा स्वास्थ्यको दृष्टिकोणले कोदोलाई महत्वपूर्ण बालीका रुपमा लिइन्छ । यसलाई ढिँडो, रोटी, सातु, लिटो, खोलेलगायत परिकार बनाएर खान सकिने स्थानीय किसानको भनाइ छ । कोदोको खोलेलाई चिसोका कारण हुने रोगको औषधिका रुपमा लिन सकिन्छ । चिसोले सताए कोदोको खोले खाएमा ठिक हुने उनीहरु बताउँछन् ।

केही सिमित कामका लागि मात्र खोजी हुने भएकाले कोदो खेतीमा किसानको रुचि कम हुँदै गएको टेम्केमैयुङ–६ का वडाध्यक्ष सूर्यप्रसाद नेपाल बताउछन। आफ्नो वडाका धेरै मानिसले कोदो खेती गर्न छाड्दै गएको उनको भनाइ छ । किसानमा परम्परागतरुपमा हुँदै आएको कोदोलगायत बालीको विकल्पमा अन्यबाली लगाउने चलन बढेको छ