0Shares

बहुउयोगी जडीबुटीका रुपमा मानिने सतुवा खेती भोजपुरका किसानको गर्न थालेका छन भने शक्तिबर्द्धक जडीबुटी मानिने सतुवा खेतीप्रति यहाँका किसान आकर्षित समेत बनन पुगेका छन । सतुवाको खेतीमा यहाँका तीन सय बढी किसान आबद्ध छन् । पछिल्लो मूल्यमा केही गिरावट आए पनि किसानमा यसको खेतीप्रतिको आकर्षण उस्तै रहेको छ । एक हजार चार सय मिटर उचाइभन्दा माथि पाइने यो जडीबुटी धेरै रोगको लागि उपयोगी मानिन्छ । सतुवा यार्सागुम्बाजस्तै शक्तिबर्द्धक हुने व्यवसायीले बताउने गरेका छन् ।

केही वर्ष अगाडिसम्म प्रतिकेजी रु १८ देखि २० सम्ममा बिक्री भएको भए पनि पछिल्लो समयमा मूल्यमा केही गिरावट आएको किसान बताउँछन् । अहिले पनि प्रतिकेजी पाँचदेखि सात हजारसम्म बिक्री हुने षडानन्द नगरपालिका १० तीनतलेका कृषक पेमदोर्ची शेर्पाले बताए । सतुवा खेती आम्दानीको राम्रो स्रोतको रुपमा स्थापित भएको छ,’ उनले भने, ‘विगतमा मूल्य धेरै राम्रो थियो । अहिले मूल्यमा केही कमी आएको छ तर किसानको यसप्रतिको आकर्षण घटेको छैन ।’

केही वर्ष अघिसम्म यस क्षेत्रका किसानले एक पटकमा १० मनसम्म संकलन गरेर बिक्री गरेको किसान शेर्पाले बताए । यहाँका सबै ३७ घरपरिवारले सतुवाको खेती गरिरहेको उनले जानकारी दिए । उनले आफ्नो पाँच रोपनी क्षेत्रमा सतुवाको व्यावसायिक खेती गरिरहेको बताए । उनले भने, ‘मैले पाँच रोपनी क्षेत्रमा खेती गरिरहेको छु । मेरो फर्ममा अहिले करिब दुई मनको हारहारीमा उत्पादन भएको छ । यसलाई एक मुष्ट बिक्री गर्ने हो भने पाँचदेखि छ लाखसम्म आम्दानी हुन्छ । घाँटी दुखेको, सर्पले टोकेको र मानिसले विषसेवन गरेको बेलामा प्रयोग गर्न सकिने बहुउपयोगी जडीबुटी रहेको किसान बताउँछन् ।

त्यस्तै यसलाई क्यान्सर, ग्याष्टिक, पेट दुख्ने, पोलेको, काटेको घाउ, पाकेको घाउ, बान्ता वा पखालालगायत रोगका लागि उपयोगी हुने किसानको भनाइ छ । प्रायः एउटा बोटबाट एउटामा मात्र डाँठ निस्कने भए पनि फस्टाएको बोटले १६ वटासम्म डाँठ हानेको यहाँस्थित तिम्माका किसान मानबहादुर राईले बताए । उनले भने, ‘मैले यसको १० वर्षबाट व्यावसायिक खेती गरिरहेको छु । खासमा धेरै ठाउँमा प्रायः एकदेखि दुई वटासम्म डाँठ आएको हुन्छ तर मेरो फर्ममा लगाएको सुतवामा १६ सम्ममा डाँठ पलाएको छ । मैले दुई सय ग्रामसम्मको सुकेको सुतवा फलाएको छु । सायदै यस्तो ठूलो सुतवा कम फलेको पाइन्छ ।’

राम्रो ढङ्गले खेती गर्नसके थोरै जमिनबाट पनि राम्रो आम्दानी लिन सकिने किसान खड्गबहादुर राउतको भनाइ छ । आफूले दुई रोपनी क्षेत्रमा खेती गरिरहेको भए पनि सतुवाको गाँनो, बिरुवाबाट बिक्री गरेर वार्षिक पाँचदेखि छ लाखसम्म आम्दानी लिने गरेको किसान राउतले जानकारी दिए । उनले भने,सतुवालाई राम्रो ढङ्गले स्याहार गरेर खेती गर्नसके जमिन पनि खास धेरै चाहिँदैन । थोरै जमिन भए पनि आम्दानी राम्रो हुन्छ । तर पछिल्लो समय सतुवामा ढुसी लाग्नेलगायतको रोग देखिन थालेको किसान राउतको भनाइ छ । गानोमा समस्या नभए पनि बोट भने ढुसीले मर्ने गरेको उनको भनाइ छ ।

बिरुवा उम्रिएको दुईदेखि तीन वर्षमा सतुवा फुल्छ । फुलेर दाना झरेपछि एउटै बोटबाट ५० देखि सयसम्म बिरुवा उत्पादन हुने किसानको भनाइ छ । यसको जमिनमुनिको गानो अदुवाजस्तै देखिन्छ । सबै पात सुरिलो डाँठको माथिल्लो भागबाट पलाएका हुन्छन् । यसको डाँठलाई तरकारीको रुपमा खादा मिठो हुने किसानको भनाइ छ । सतुवा विशेष गरेर सेपिलो भागमा फस्टाउँछ । यसको खेतीका लागि चिस्यान, ओसिलो र मलिलो माटो तथा उत्तर–पश्चिम फर्किएको भूगोलमा उपयुक्त हुने किसानले बताउने गरेका छन् । सतुवा विशेष गरेर बिक्रीका लागि भारत र चीन जाने व्यवसायी बताउँछन् । सरकारले बजारीकरणमा ध्यान दिए सतुवा खेतीबाट राम्रो आम्दानी लिन सकिने कृषक गुणराज राउतले बताए ।