0Shares

धरान उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष (२०७९-०८०) का लागि १ अर्ब ६८ करोड ५८ लाख २३ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । शुक्रबार शुक्रबार ११ औँ नगरसभामा प्रस्तुत बजेट कार्यक्रममा खानेपानी, पूर्वाधार विकास, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य, सामाजिक विकास, विपद व्यवस्थापनलाई उपमहानगरले प्राथमिकतामा राखेको छ ।

प्रदेश नम्बर १ का सभामुख प्रदीपकुमार भण्डारीले उद्घाटन गरेको नगरसभामा उपप्रमुख बेघाले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम, आर्थिक विधेयक र विनियोजन विधेयक प्रस्तुत गरेका थिए । मेयर हर्कराज राई (साम्पाङ) समेतको उपस्थितिमा बजेट प्रस्तुत भएको थियो । उपप्रमुख एवम् बजेट तर्जुमा समितिका संयोजक बेघाले प्रस्तुत गरेको कुल विनियोजित बजेटमध्ये चालुतर्फ ८३ करोड ३७ लाख ७२ हजार ४ सय ४२, पुँजीगततर्फ ८१ करोड ९५ लाख ५० हजार ५ सय ५८, वित्तीय व्यवस्थातर्फ ३ करोड २५ लाख विनियोजन गरिएको छ ।

बेघाद्वारा प्रस्तुत बजेटमा आवको लागि खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजश्वका स्रोतबाट २५ करोड, अन्य संस्थागत आन्तरिक अनुदान ५ करोड २० लाख, संघीय सरकारबाट अनुदान ८३ करोड ४ लाख, प्रदेश सरकारबाट अनुदान ३ करोड ५० लाख ७० हजार, संघीय राजश्व बाँडफाडबाट २० करोड ५३ लाख ४५ हजार, प्रदेश राजश्व बाँडफाडबाट २० करोड र अपुग हुने ११ करोड ३० लाख ८ हजार नगद मौज्दान परिवर्तबाट व्यवस्थापन हुने अनुमान गरिएको जनाएका छन् । यो बजेटले निर्वाचनका बेला जनतासँग गरेका प्रतिबद्धता पूरा गर्ने र धरान बनाउने अभियानमा सबैको साथ, सहयोग पाउनेमा विश्वस्त रहेको उनको भनाइ थियो ।

मेयर कोषमा १ करोड २० लाख, उपप्रमुख कोषमा ८० लाख, पूर्वाधार, साझेदारी कार्यक्रमको लागि ७५ लाख, विपद व्यवस्थापन कोषका लागि ५० लाख, आकस्मिक कोषमा ५ लाख, कार्यालय सञ्चालन तथा प्रशासनिकलगायतका अन्य खर्चतर्फ ४० करोड समेत गरी ४३ करोड ९० लाख विनियोजन भएको छ । यस्तै, वडागत अन्तर्गत २० वटै वडाको लागि ३१ करोड ५० लाख, शहरी योजना तथा भौतिक पूर्वाधार विकासतर्फ ३९ करोड १० लाख, शिक्ष युवा तथा खेलकुदतर्फ ४० करोड ९७ लाख, स्वास्थ्यतर्फ ४ करोड २ लाख, सामाजिक विकासतर्फ ५ करोड ८२ लाख २३ हजार, आर्थिक विकासतर्फ २ करोड ७२ लाख, वन, वातावरण, उर्जा तथा विपद व्यवस्थापनका लागि १ करोड ६८ लाख, पर्यटनतर्फ ३० लाख, सूचना तथा सञ्चारका लागि २५ लाख, साहित्य, कला, संस्कृतिका लागि ४५ लाख, अव्यवस्थित बसोबार तथा सुकुम्बासी व्यवस्थापनका लागि २५ लाख, मजुदर कल्याण कार्यक्रमका लागि ५ लाख, कानुन तथा न्याय सम्पादनतर्फ १० लाख बजेट विनियोजन गरिएको जनाइएको छ ।

यस्तै, सार्वजनिक जग्गा र जलाधार संरक्षणका लागि २० लाख, राजश्व सुधार तथा संस्थागत क्षमता विकासतर्फ २५ लाख, आवधिक योजना तथा नगर प्रोफाइल, घर, व्यवसाय, बहालको सूचना जिआइएस अपडेटतर्फ ४० लाख बजेट विनियोजन गरिएको छ । आगामी नगरसभा असार २३ गते बिहीबार १ बजे हुने गरी स्थगित भएको जानकारी मेयर साम्पाङले दिएका छन् । तस्वीरहरुः लक्ष्मण थापा