11Shares

आजबाट एसइई परीक्षा सुरू भएको छ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरु भएको हो । आज पहिलो दिन अंग्रेजी विषयको परीक्षा सम्पन्न भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले पहिलो दिनको परीक्षा देशभर शान्तिपूर्ण रुपमा सम्पन्न भएको जनाएको छ । आजबाट सुरु भएको उक्त परिक्षामा देशभरबाट ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सहभागी भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। काठमाडौं जिल्लामा सबैभन्दा बढी १ सय २७ परीक्षा केन्द्र छन भने मनाङ र मुस्ताङमा सबैभन्दा कम एक–एक परीक्षा केन्द्र तोकिएको छ ।

उता बागमती प्रदेशबाट सबैभन्दा बढी अर्थात एक लाख ५ हजार ७ सय ४३ विद्यार्थी परिक्षमा सहभागी भएका छन । यस वर्षको एसइईमा दुई लाख ५० हजार ७ सय ७२ छात्रा सहभागी छन भने दुई लाख ५३ हजार ६२७ छात्र सहभागी रहेका छन्। आज बिहान ८ बजेदेखि सुरु भएको परीक्षाका लागि देशभर दुई हजार ६४ केन्द्र तोकिएका छन भने परीक्षालाई व्यवस्थित बनाउन ७७ हजार ४ सय ८५ जना जनशक्ति परिचालन समेत गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। उता स्याङ्जाको पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट क्रियापुत्री बसेका दाजुभाइले एसइई परीक्षा दिएका छन ।

चार दिनअघि बुवाको मृत्यु भएर क्रियापुत्री बसिरहेका फेदिखोला ४ घर भएका सिद्धार्थ मावि फेदिखोला १ मा अध्ययनरत सङ्गम क्षेत्री र सौगात क्षेत्री दाजुभाइले एसइई परिक्षा दिएका हुन भने उता यस वर्षको एसईई परीक्षामा जापानको टोकियोमा रहेको एभरेष्ट इन्टरनेसनल स्कुलबाट पनि १५ छात्रा र ८ छात्र गरी जम्मा २३ जना परीक्षार्थीहरु सहभागी भएका छन ।

एभरेष्ट इन्टरनेसनल स्कुल नेपाली पाठ्यक्रम अनुसार नेपाल बाहिर माध्यमिक तहसम्म पढाइ हुने एक मात्र विद्यालय हो । विगतका एसईई परीक्षामा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत अंक ल्याउनुपर्ने प्रावधान रहेकामा यस वर्षदेखि विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० प्रतिशत अंक ल्याउनैपर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । ३५ प्रतिशतभन्दा कम अंक ल्याएमा कक्षा ११ मा भर्ना हुन पाइँदैन । त्यस्ता परीक्षार्थीहरुले मौका परीक्षा भने दिन पाउने छन ।