7Shares

नयाँ वर्ष २०८१ साल आजबाट सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज शनिबार देश-विदेशमा रहेका नेपालीहरुले एकआपसमा शुभकामना आदानप्रदान गर्दै मनाईरहेका छन् ।

नयाँ वर्ष आरम्भका अवसरमा आज देशभर सार्वजनिक बिदा समेत दिइएको छ । नयाँ वर्षमा सफलता मिल्ने शुभकामना एक अर्कामा व्यक्त गर्दै, मिस्ठान्न भोजन खानुका साथै साँस्कृतिक उत्सव समेत आयोजना गर्दै आज नयाँ वर्ष विशेष पर्वको रुपमा मनाउने गरिन्छ ।

सफलता प्राप्त गर्न आजका दिन नयाँ योजना निर्माण एवम् सत्संकल्प गर्ने परम्परा समेत रहेको छ । आजको दिन नयाँ कामको थालनी गर्ने चलन पनि रहि आएको छ ।

आज बिहानै स्नान गर्ने, मन्दिर वा आफ्नो आस्था अनुरुपको धार्मिक स्थलमा जाने, घर सफा गर्ने, मिठो-मिठो खाने, साथीभाइ तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना व्यक्त गर्ने गरिन्छ । नयाँ वर्षको पहिलो दिन राम्रो सुरुआत भए वर्षभर सफलता मिल्ने जनविश्वास छ । विक्रमादित्यले चलाएको सम्वत् भएकाले यो सम्वतलाई विक्रम संवत् भनिएको हो ।

मल्ल कालदेखि नेपालमा मौलिक संवतका रूपमा विक्रम संवत् चलेको हो । नेपालमा मात्र मौलिकरुपमा यो संवत् चल्छ । भारतमा सरकारी संवत् शक सम्वत भए पनि व्यवहारमा इस्वी संवत् चलेको पाईएको छ ।