14Shares

चिनीलाई अझ महगो बनाउने उद्देश्य राखेर नेपालका ६ वटा ठुला चिनी उद्योगहरुले चिनीको मूल्यमा कार्टेलिङ अर्थात स्टक राख्ने कार्य गर्दै कृत्रिम मूल्यवृद्धि गरिरहेको आरोप ब्यवसायीहरुले नै लगाएका छन् । व्यवसायीहरुले ठूला उद्योगले अफ सिजनमा मूल्यवृद्धि भएका वेला चिनीलाई अझ महगो बनाउने उद्देश्य राखेर अहिलेदेखि नै महँगो मूल्य राखेको आरोप लगाएका हुन् । जसले गर्दा चिनीको मुल्य महँगो हुन गई कुनैपनि व्यवसायीले चिनी खरिद गरेका छैनन् ।

चिनीको मूल्यमा कार्टेलिङ अर्थात स्टक राख्ने कार्य गर्दै कृत्रिम मूल्यवृद्धि गर्ने उद्योगहरुमा बर्दिबासको एभरेस्ट सुगर मिल, सर्लाहीको इन्दुशंकर, कलैयाको रिलायन्स, सर्लाहीको महालक्ष्मी, महेन्द्रनगरको भाग्येश्वर र महेन्द्रनगरकै महाकाली गरी ६ वटा सुगर मिल रहेका छन । उद्योगको महगो मूल्यका कारण व्यवसायी साना उद्योगतिर आकर्षित भएका छन् । यसका कारण ठूला उद्योगलाई भविष्यका लागि धेरै परिमाणमा स्टक राख्न सजिलो परेको बताइएको छ । एक व्यवसायीका अनुसार अफ सिजनमा लगभग वैशाखपछि साना सुगर मिलको चिनी करिब–करिब सकिइसकेको हुन्छ । यही वेला ठूला उद्योगीले विक्री खोल्छन् र मूल्यमा अझ वृद्धि गर्छन् ।

यसरी अहिलेको सिजनमा चिनीको विक्री कम गरेर वा गर्दै नगरी स्टक राख्ने उद्योगमा बर्दिबासको एभरेस्ट सुगर मिल, सर्लाहीको इन्दुशंकर, कलैयाको रिलायन्स, सर्लाहीको महालक्ष्मी, महेन्द्रनगरको भाग्येश्वर र महेन्द्रनगरकै महाकाली गरी ६ वटा सुगर मिल हुन् । छ वटै ठुला उद्योगले पुसको पहिलो हप्तामा प्रति किलो चिनीको कारखाना–गेटको मूल्य भ्याटबाहेक ७४ देखि ७५ रुपैयाँमा खोलेका थिए । यसैबिच गृहमन्त्रीमा रवि लामिछाने आएपछि उनले सीमानाका कडा पारे । यसका कारण भारतबाट नेपालतर्फ हुने चिनीको तस्करीमा पनि कडाइ गरियो ।

सिमाना कडा भएपछि ६ वटै उद्योगले प्रति किलो २ रुपैयाँसम्म फेरि मूल्यवृद्धि गरे । यसैबिच सर्वोच्चको अदालतको आदेशपछि लामिछानेको बहिर्गमन भयो । यसका कारण सिमानाको तस्करी फेरि खुकुलो हुन थालेको छ । यसपछि ठुला भनिएका ६ वटै उद्योगले मूल्य घटाएका छन् । ती उद्योगले अहिले प्रति किलो चिनीको कारखाना मूल्य भ्याटबाहेक ७४ देखि ७५ रुपैयाँ निर्धारण गरेका छन् ।

व्यवसायी जितेन्द्र जैनले भने, ‘अहिले सिजनमै मूल्यवृद्धि गर्ने उद्योगले अफ सिजनमा चिनी निकालेर प्रति किलो कारखाना मूल्य भ्याट बाहेक ८२ देखि ८४ रुपैयाँसम्म बनाउने उद्देश्य राखेका छन् ।’ तर ठुला चिनी उद्योगका सञ्चालक भने आफूले कार्टेलिङ गरेको र कृत्रिम मूल्यवृद्धि गराएको भन्ने आरोप स्वीकार गर्न तयार छैनन् । सर्लाहीको महालक्ष्मी सुगर मिलका सञ्चालक राजकुमार गुप्ताले भने, ‘अहिले चिनी नै विक्री भइरहेको छैन । हामी प्रति किलो ७३ रुपैयाभन्दा कममा विक्री गर्न सक्दैनौ किनकि उखुको मूल्यमा पनि प्रति क्विन्टल २० रुपैयाँले वृद्धि भएको छ । हामीले प्रति किलो ७३ मा विक्री गर्दा नाफा–घाटा बराबर छ । तर साना चिनी मिलहरू प्रति किलो ७१–७२ मा कसरी विक्री गरिरहेका छन् । हामीले बुझ्न सकेका छैनौं । सञ्चालक गुप्ताले उद्योगले चिनीको विक्री नगरेको होइन, उद्योगबाटै चिनीको विक्री हुन नसकेको दाबी गरेको उनको भनाइ थियो ।