59Shares

बि.स. २०५५ सालमा स्थापना भएको लिम्बु विद्यार्थी मञ्चको आयोजनामा दोस्रो अन्तराष्ट्रिय महासम्मेलन सुनसरीको धरानमा हुने भएको छ । आयोजक लिम्बु बिद्यार्थी मञ्चले आईतबार नेपाल पत्रकार महासंघ सुनसरीको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त महासम्मेलनबारे जानकारी दिए ।

मञ्चका केन्द्रीय अध्यक्ष तथा कार्यक्रमका सम्योजक नितेश सिंगकले सम्मेलन यहीं मिति २०८० चैत्र ६ गते १० गतेसम्म अस्तित्वको लागि एकता भन्ने मूल नाराका साथ लिम्बुवानको विजयपुर धरानमा सम्पन्न हुने जानकारी दिए । उक्त महासम्मेलनमा भारत, भुटान, अमेरिका, बेलायत, अस्ट्रेलिया, जापान, जर्मनी, फ्रान्स लगायत विश्वका विभिन्न १७ देश र नेपालको १४ जिल्लाबाट एक हजार भन्दा बढी विद्यार्थीहरुको उपस्थितीमा गरिनेछ ।

सम्मेलन लिवि मञ्च स्थापना भएको २५ औं वर्षगाठ पूरा भएको अर्थात युप्पा तड्वे (रजत जयन्ती) को अवसर पारेर चैत्र ६ गते केःलाङ, येवालाङ, माङलाङ र याःलाङ प्रदर्शन गर्दै विशाल ¥याली सहित सम्मेलनको समुदघाटन समारोह सम्पन्न गरिने पनि पत्रकार सम्मेलनमा आयोजक मञ्चले जनाएको छ ।

त्यस्तै चैत्र ७ र ८ गते दुई दिन अन्तराष्ट्रिय सभा हुनेछ भने सभामा लिम्बु भाषाको ईतिहास र लिपिको विकासक्रम, भाषिक आन्दोलन र मातृभाषामा उच्च शिक्षा, लिम्बु भाषा पाठ्क्रम निर्माण र विकासक्रम, किरात धर्म र सस्कार सँस्कृति, समुदायमा युमा धर्म र दर्शनको प्रभाव, लिम्बुवानको किपट व्यवस्था,भूमि अभिलेखिकरण र अधिग्रहण, लिम्बुवानको मुन्धुमी तथा ऐतिहासिक स्थलको चर्चा,लिम्बुहरुको प्रथाजनित कानुन, संघीयता र जनसंख्याको राजनीति, लिम्बु चलचित्र र साहित्य, मुन्धुममा समाजशास्त्रीय पक्ष, खेलकुद, पत्रकारिता, लिम्बुहरुको शैक्षिक अवस्था, लिम्बुहरुको आर्थिक अवस्था, राजनीतिक संघर्षको अवस्था, अन्तराष्ट्रिय कानुन र आदिवासी अधिकार, पर्यावरण र जलवायु परिवर्तन, लिम्बुवान आन्दोलन, वर्तमान पहिचानको आन्दोलन, द्वन्द्व शान्ति र विकास, भारतमा रहेका लिम्बुहरुको अवस्था, विश्वको विभिन्न देशमा रहेका लिम्बुहरुको अवस्था, लगायत विभिन्न २२ वटा भन्दा बढी विषयहरुबारे कार्यपत्र प्रस्तुत हुने र त्यसबारे बृहत रुपमा छलफल समेत गरिने आयोजकले जनाएको छ ।

त्यसैगरी चैत्र ९ गते महासम्मेलनको अन्तीम दिन सम्मान तथा धन्यवाद सहित तरेचा कार्यक्रम हुनेछ भने चैत्र १० गते अन्तराष्ट्रिय सभाबाट पारित विषयहरु र महासम्मेलनको आर्थिक प्रतिवेदन पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिने पनि आयोजकले जनाएको छ । लिम्बु विद्यार्थीहरुको प्रथम अन्तराष्ट्रिय महासम्मेलन गएको बि.स.२०७३ कात्तिक २, ३ र ४ गते लिम्बुवानको दमकमा सम्पन्न भएको थियो भने उक्त सम्मेलनपछि ७ बर्षपछि मात्र सम्मेलन हुन लागेको हो । तत्कालीन महा सम्मेलनकै निरन्तरताको स्वरुप नै यो दोस्रो महा सम्मेलन पनि आयोजना गर्न लागिएको मञ्चले जनाएको छ । मञ्चले विश्वमा रहेका लिम्बु विद्यार्थीहरुलाई भावनात्मक रुपमा एकीकृत गर्न र याक्थुङ लिम्बुहरुसँग सम्बन्धित विभिन्न पक्षहरुमा बृहत छलफल गरी समुदायलाई एकताबद्ध गर्ने दोस्रो महासम्मेलनको प्रमुख उद्देश्य हुने रहेको समेत पत्रकार सम्मेलनमा अध्यक्ष सिंगकले जनाएको छ ।