49Shares

असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा आजबाट फागुन पुर्णिमा अर्थात होली पर्ब मनाईदैछ । आज हिमाली तथा पहाडी जिल्लाहरुमा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा रहि आएको छ । यो पर्वमा एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर भाईचाराको रुपमा मनाउने चलन रहेको छ ।

यस पर्वका अवसरमा आज काठमाडौको वसन्तपुरमा गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुंडिखेलमा लगी जलाइन्छ । उक्त चीरमा राखिएका ध्वजापताका औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ । फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठक अगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु शुरु हुन्छ ।

आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’नामक धारामा चुठाउने चलन छ । त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ । त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली खेल्ने परम्परा चलेको विश्वास रहि आएको छ ।

यसैबीच रंगहरूको पर्व फागु (होली पर्ब) तराई तथा मधेसका जिल्लाहरूमा भोली सोमबार हर्षाेलासपूर्वक मनाईने भएको छ । पहाडी जिल्लामा आइतबार नै फागु पूणिर्मा अर्थात होली मनाइए पनि तराई मधेसका जिल्लाहरूमा भने भोली सोमबार होली मनाउन लागिएको हो । होलीका अवसरमा केन्द्र सरकारले सोमबार एक दिन तराई मधेसका जिल्लाहरुमा सार्वजनिक बिदा दिएको छ । भौगोलिक संरचना र मान्यताअनुरूप फागु पूणिर्मा मनाउने चलन छ ।

स्थानअनुसार मनाइने फागु पुणिर्माको नाम पनि फरक फरक छ । हिमाली र पहाडी भेकमा ‘फागु’ र मधेशमा ‘होली’ भनिन्छ । मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी समेत भन्ने गरिएको छ । यसैबीच होलीमा हुन सक्ने उच्छृखल गतिविधि रोक्न प्रहरीले सुरक्षा सतर्कता समेत बढाएको छ । हरेक स्थानीय प्रहरी कार्यँलयहरुले जथाभावी रंग दल्ने,लोला हान्ने तथा अबान्छीत गतिबिधि गर्नेहरुलाई कार्वाही समेत गर्ने चेतावनी दिएको छ ।