0Shares

सुनसरीको धरानमा जारी चौथो स्व. बिक्रम राई स्मृति भेट्रान फुटबल प्रतियोगितामा आज भएको अन्तिम क्वाटरफाईनल खेलमा काकडभिट्टा भेट्रान फुटबल क्लब झापालाई हराउदै दमक लखनपुर भेट्रान फुटबल क्लब सेमिफाइनल प्रबेश गरेको छ ।

धरान १६ स्थित प्रस्तावित क्षेत्रीय रंगशालामा दिउँसो ४ बजेर ४४ मिनेटमा सुरु भएको खेलमा दमक लखनपुरले काकडभिट्टालाई १-० गोलले हराउदै सेमिफाइनल यात्रा तय गरेको हो । निकै नै प्रतिस्पर्धात्मक खेलमा दमक लखनपुर भेट्रान फुटबल क्लबका जर्सी न १० का सुबास हाङ्ग्थुपो लिम्बुले गरेको गोल नै जितका लागि निर्णायक भएको थियो । जहाँ लिम्बुले खेलको दोस्रो हाफको ९ औ मिनेटमा गोल गरेका थिए ।

आजको खेलको म्यान अफ द म्याच दमक लखनपुर भेट्रानका जर्सी १० का सुबास हाङ्ग्थुपो लिम्बु नै घोषित हुँदै नगद २१ सय र मेडल प्राप्त गरेका छन ।

भोलिको पहिलो सेमिफाइनल खेल रारा भेट्रान फुटबल क्लब धनकुटा र हाम्रो भेट्रान फुटबल क्लब धरान बिच हुनेछ भने दोस्रो तथा अन्तिम सेमिफाइनल खेल दमक लखनपुर भेट्रान फुटबल क्लब र आयोजक धरान भेट्रान फुटबल क्लबका बिच हुने आयोजकले जनाएको छ ।